Saturday, July 21, 2018
कथा : सम्धिनी
दुइ वर्षको प्रेमिल सम्बन्धपछी अस्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ुल्किएर हिडेकी ऊ बोल्ने त कुरै थिएन ,आँखा सिधा पारेर हेर्दा पनि हेरिन । मन थकथक भयो । लास्ट यिएर को विधार्थी उसको चिन्ता त छँदै थियो अझ अब के गर्ने ,कता सेटल हुने भन्ने कुराले निकै कन्फ्युज्ड बनाएको थियो ।
परीक्षा सकाएर अब्रोड स्टडीका लागि तयारी गर्न राजधानी गएँ।एउटा कन्सल्ट्यान्सीमा पार्ट टाइम जागिर गर्दै तयारी गर्दै थिएँ । दुइ महिना पछी अन्तिम सेमेस्टरको रिजल्ट पनि आयो । मार्कशिट लिन फेरी पोखरा जानुपर्ने भयो । कन्सल्ट्यान्सीबाट तिन दिनको विदा मिलाएर पोखरा हानिएँ । कलेज के पसेको थिए ,त्यहाँ अस्मितालाई कसैले छाता ओडाएर हिंडिरहेको देखें ,जससँगको सम्बन्धका बारेमा बाहिर केहि गाइंगुँई सुनिइसकेको थियो। डाहा लाग्यो ,लागेर के गर्नु ? उसलाई बोलाउन खोजें ,आँट आएन ,अनि खुट्टा भए जुत्ता कतिकति भनेर चित्त बुझाएँ ।
रिजल्ट आएको दुइ महिनापछी क्यानाडा को भिजा लाग्यो । करिव पांच बर्षमा अध्ययन र केहि काम गरेर नेपाल फर्कें । घर परिवारकै सल्लाहमा बुवाको साथीको छोरी सन्ध्यासंग बिहे भयो। बिहे भएको केहि समयमा हामी दुवैजना फेरी क्यानाडा गयौं । उसको अध्ययन चलेकै थियो ,मैले जसोतसो केहि कमाएको थिएँ । जे होस् परिवार खुसीसाथ चलिरहेको थियो । यता ममीले “नातिनातिनाको मेशोमेलो के छ” भन्दै जिस्काइरहनुहुन्थ्यो।तर त्यो बारे सोचिसक्ने बेला भएको थिएन । दुइ बर्षपछी उसको एम.बि.ए पनि सकियो । त्यसपछि हामी नेपाल फर्क्यों ।
मैले एउटा कन्सल्ट्यान्सिमा जागिर गर्न थालें अनि उसले एउटा बैंकमा ! बुवाममिको कचकच जेन को तेन थियो । नभन्दै नेपाल आएको एक वर्षमा बुवाममिको इच्छ्या पनि पुरा भयो । उहाँहरुले नाती पाउनुभयो । हामीले छोरा पायौं । ममिकै रोजाइमा उसको नाम सौभाग्य राखियो ।
सौघाग्य एक ,दुइ ,तिन वर्ष हुँदै ठुलो हुँदै गयो । पढाइ मा तेज नै थियो । अन्य बाहिरी काममा पनि टाँठो थियो । जे होस् सौभाग्यको बाबा भन्दा गर्व गर्न सकिएको थियो । यसरी नै उसले राम्रो अंकका साथ् एस.एल.सी. पास गर्यो । प्लस टु मा पनि राम्रै घर्यो । त्यसपछि उसलाई एम.बि.बि.एस.को तयारीका लागि काठमाडौं पठायौं । जे होस् उसले भनेकै ठाउँमा पढ्न पायो । परिवारमा अर्को खुसि थपियो । उसको एम.बि.बि.एस. नसकिंदै बुवाममिले अब नातिनिबुहारीको माग गर्न थालिसक्नु भएको थियो । तर उसको बिहे गरिदिने बेला भएको थिएन । ममिबुवाको कुरालाई ऊ “ ढुक्क हुनुस,तपाइहरुले खोजेजस्तै बुहारी ल्याउँछु” भनेर टारिदिन्थ्यो ।
उसलाई एम.डी को लागि बाहिर पठाउने कुरा भयो । उसले स्कलरशिप मै एम.डी पढ्न पाउने भयो । अन्तत: ऊ अमेरिका गयो । बुहारी चाहियो भनेर बुवाममी उसलाई जिस्काइरहनुहुन्थ्यो। अब त हामीलाई पनि बुहारीको खाँचो भएको आभास भएको थियो।उ जवाफ दिन्थ्यो “आएपछि बुहारी पाउनुहुन्छ ,ढुक्क हुनुहोस।”
एम.डी. सकेर सौभाग्य नेपाल फर्कियो । घरमा फेरी अर्को खुशी थपियो । अब हामी भित्र भित्र उसलाई केटि खोज्न लागि परेका थियौं। कुरा बुझ्दै जाँदा बुहारी त पहिल्यै खोजिसकेको रहेछ । एम.बि.बि.एस. पढ्दै गर्दा मायाँमा परेका रहेछन । केटिको नाम ज्योती रहेछ ।
अब उसको घरमा कुरा गर्ने तयारी गर्यौं । कुरा नमिल्ने केहि थियन । सहमतिअनुसार नै टिकाटालाको शुभ-साइत तोकियो, ज्योतिको घरमा बैशाख १४ गते जाने निधो गरियो ।
हामि चौध-पन्ध्रजना जति उसको घरतर्फ लाग्यौं । सौभाग्य मख्ख परेको थियो । गाडीबाट झर्नासाथ आमा -समुहको स्वागत पाइयो । ज्योतिको घरको गेट खुल्यै थियो। बाहिर कुर्चीहरु राखिएका थिए ।गएर बस्यौं । ज्योतिले जुस लिएर आइन। ज्योति सुन्दर थिइन्, उस्तै टाँठी थिइन्! वत्तिस लच्क्षिणकि भन्दा फरक पर्दैनथ्यो । जे होस् म बुहारी देखेर सन्तुष्ट थिएँ । ज्योतिका बाबा हामीसँग गफ गरिरहेका थिए । ज्योतिकी आमा बाहिर थिइनन ।सोध्ने कुरा पनि भएन ,सायद किचनमा बिजी थिइन होला । हामीलाई खाना खान डाइनिंग मा लगियो । खाना खायौं । ज्योतिकी ममी किचन मै थिइन् , थप्ने काम उसकी बहिनी र उसका साथीले गरिरहेका थिए ।
खाना खाइसकेपछी टिका लगाउने कार्यक्रम चल्दै थियो । पहिला ज्योति र सौभाग्यले टिका लगाउने काम भयो । त्यसपछि मलाइ टिका लगाउन ज्योतिका बाबा र ममी आए । उसकी ममीले टाउको रुमाल ले छोपेकी थिइन् । कताकता देखेदेखेजस्तो लागेको थियो । तर ठम्याउन सकेको थिइन् ।ज्योतिका बाबाले “ल सम्धी ज्यू,नयाँ नाता गास्न लागियो ,हामीलाई बधाई छ” भन्दै टिका लगाइदिए ।ज्योतिकी ममी टिका लिएर मेरो निधार तिर हात तेर्साएकी के थिइन्, मैले पत्तो पाइहालें , उनि अरु कोहि नभएर उही अस्मिता रहिछिन । आँखामा आँशु भरिए ,देखाउन मिलेन । हतार हतार टिका लगाउन अर्कोलाई बोलाएँ ।
Subscribe to:
Post Comments (Atom)
Sangeet Lamichhane: मुक्तक
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
-
एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...
-
दु इ वर्षको प्रेमिल सम्बन्धपछी अ स्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ु...
-
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
No comments:
Post a Comment