Tuesday, July 24, 2018

कथा :सम्धिनी

    दुइ वर्षको प्रेमिल सम्बन्धपछी अस्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ुल्किएर हिडेकी ऊ बोल्ने त कुरै थिएन ,आँखा सिधा पारेर हेर्दा पनि हेरिन । मन थकथक भयो । लास्ट यिएर को विधार्थी उसको चिन्ता त छँदै थियो अझ अब के गर्ने ,कता सेटल हुने भन्ने कुराले निकै कन्फ्युज्ड बनाएको थियो ।
      परीक्षा सकाएर अब्रोड स्टडीका लागि तयारी गर्न राजधानी गएँ।एउटा कन्सल्ट्यान्सीमा पार्ट टाइम जागिर गर्दै तयारी गर्दै थिएँ । दुइ महिना पछी अन्तिम सेमेस्टरको रिजल्ट आयो । मार्कशिट लिन फेरी पोखरा जानुपर्ने भयो । कन्सल्ट्यान्सीबाट तिन दिनको विदा मिलाएर पोखरा हानिएँ । कलेज के पसेको थिए ,त्यहाँ अस्मितालाई कसैले छाता ओडाएर हिंडिरहेको देखें ,जससँगको सम्बन्धका बारेमा बाहिर केहि गाइंगुँई सुनिइसकेको थियो। डाहा लाग्यो ,लागेर के गर्नु ?  उसलाई बोलाउन खोजें ,आँट आएन ,अनि खुट्टा भए जुत्ता कतिकति भनेर चित्त बुझाएँ ।




      “खुट्टा भए  जुत्ता कतिकति” यो त चित्त बुझाउने बाटो न थियो । मनबाट मायाँ गरेको मान्छेलाई यति सजिलै  बिर्सिन कहाँ सकिन्थ्यो र
? एउटी चल्चले ,मिजासिली अनि मायाँ लाग्दी केटि हरबखत मस्तिकमा आइरहन्थी !  सम्बन्धमा यसरी फाटो आउला भनेर कहिल्यै सोचेको थिइन ।  

उसँगको पहिलो भेट
,त्यसपछिका रमाइला भेटहरु , झरीमा एउटै छाताभित्र बिताएका पलहरु , एउटै प्लेटका ममका यादहरु , मस्तिस्कमा बारम्बार आइरहेका थिए । बिगतमा पनि ऊ रिसाउँथी ,मैले पनि फकाउन सकेको थिए  । उसलाई फकाएर मनाउनुको मज्जा पनि बेग्लै थियो । उ निफुल्कि रहन्थी ,तैपनि म ढुक्क थिएँ ,उसले मायाँ गर्थी । कलेजभर साथीहरु  मलाइ उसकै नामबाट जिस्काउँथे । साथीहरुलाई भन्दा ज्यादा समय उसलाई दिन परेकाले साथीहरु गुनासो गरीरहन्थे । तैपनि साथीहरु समझदार थिए रत मेरो जिन्दगी बिन्दास साथ चलेको थियो ।  सम्बन्ध सुरु भएको केहि दिनमै मैले चुरोट पिउने कुरा उसले थाहा पाइछे । त्यसपछि “कि मलाई छाड कि चुरोट छाड” भन्ने अल्टिमेटम दिई । उसलाई छाड्ने त कुरै थिएन । चुरोट छाड्न वाध्य भएँ । आजकल त्यही चुरोट फेरी मेरा औंलाका विचमा आउन थालेको थियो । मेरो हालत खराव देखेर साथीहरु सम्झाउन खोज्थे तर उसको याद मेटाउने विकल्प बनेको चुरोट मैले कसरी छाड्न सकूँ?

     परिवारमा अभाव
, गरिवी अनि देशमा वेरोजगारीका कारण म बिदेशिएँ । शुरुशुरुका दिनमा त  दिनहरु उसकै यादमा बित्थे । विस्तारै युनिभर्सिटी र जागिरको पेलान मा भुल्दै गएँ । कमाइ सन्तोषजनक अनि पढाइ काम चलाउ चलिरहेकै  थियो ।

युनिभर्सिटीमा नेपालीहरु थुप्रै थिए । हामी नेपालीहरु नजिक नजिक बस्थ्यौं
,दुखसुख बाँड्थ्यौं । जे होस् परिवार जस्तै भएर बसिएको थियो । त्यसै क्रममा स्याङ्जाकि एकजना सन्ध्या नाम गरेकी केटीसँग भेट भयो । उनि हामीभन्दा दुइ वर्ष जुनियर थिइन ।पारिवारिक हैसियत,धन दौलत सबै उस्तै भएकाले हामीविच कुनै ग्याप आएन,घुलमिल हुँदै गयौं । पछी नेपाल आएपछि उसैसँग बिहे भयो ।मैले एउटा कन्सल्ट्यान्सिमा जागिर गर्न थालें अनि उसले एउटा बैंकमा ! ममीले “नातिनातिनाको मेशोमेलो के छ” भन्दै जिस्काइरहनुहुन्थ्यो।तर त्यो बारे सोचिसक्ने बेला भएको थिएन । त्यसको केहि वर्षमा बुवाममिको इच्छ्या पनि पुरा भयो । उहाँहरुले नाती पाउनुभयो । हामीले छोरा पायौं । ममिकै रोजाइमा उसको नाम सौभाग्य राखियो ।
             सौघाग्य एक
,दुइ ,तिन वर्ष हुँदै ठुलो हुँदै गयो । पढाइ मा तेज नै थियो । अन्य बाहिरी काममा पनि टाँठो थियो । जे होस् सौभाग्यको बाबा भन्दा गर्व गर्न सकिएको थियो । यसरी नै उसले राम्रो अंकका साथ् एस.एल.सी. पास गर्यो  । प्लस टु मा पनि राम्रै गर्यो । त्यसपछि उसलाई एम.बि.बि.एस.को तयारीका लागि काठमाडौं पठायौं । जे होस् उसले भनेकै ठाउँमा पढ्न पायो । परिवारमा अर्को खुसि थपियो । उसको एम.बि.बि.एस. नसकिंदै बुवाममिले अब नातिनिबुहारीको माग गर्न थालिसक्नुभएको थियो । तर उसको बिहे गरिदिने बेला भएको  थिएन । ममिबुवाको कुरालाई ऊ “ ढुक्क हुनुस,तपाइहरुले खोजेजस्तै बुहारी ल्याउँछु” भनेर टारिदिन्थ्यो ।
       उसलाई एम.डी को लागि बाहिर पठाउने कुरा भयो । उसले स्कलरशिप मै एम.डी पढ्न पाउने भयो । अन्तत: ऊ अमेरिका गयो । बुहारी चाहियो भनेर बुवाममी उसलाई जिस्काइरहनुहुन्थ्यो। अब त हामीलाई पनि बुहारीको खाँचो भएको आभास भएको थियो।उ जवाफ दिन्थ्यो “आएपछि बुहारी पाउनुहुन्छ
,ढुक्क हुनुहोस।”
      एम.डी. सकेर  सौभाग्य नेपाल फर्कियो । घरमा फेरी अर्को खुशी थपियो । अब हामी भित्र भित्र उसलाई केटि खोज्न लागि परेका थियौं। कुरा बुझ्दै जाँदा बुहारी त पहिल्यै खोजिसकेको रहेछ । एम.बि.बि.एस. पढ्दै गर्दा मायाँमा परेका रहेछन । केटिको नाम ज्योती रहेछ ।
अब उसको घरमा कुरा गर्ने तयारी गर्यौं । कुरा नमिल्ने केहि थियन । सहमतिअनुसार नै टिकाटालाको शुभ-साइत तोकियो
, ज्योतिको घरमा बैशाख १४ गते जाने निधो गरियो ।
         हामि चौध-पन्ध्रजना जति उसको घरतर्फ लाग्यौं । सौभाग्य मख्ख परेको थियो । गाडीबाट झर्नासाथ आमा -समुहको स्वागत पाइयो । ज्योतिको घरको गेट खुल्यै थियो। बाहिर कुर्चीहरु राखिएका थिए ।गएर बस्यौं । ज्योतिले जुस लिएर आइन। ज्योति सुन्दर थिइन्
, उस्तै टाँठी थिइन्! वत्तिस लच्क्षिणकि भन्दा फरक पर्दैनथ्यो । जे होस् म बुहारी देखेर सन्तुष्ट थिएँ । ज्योतिका बाबा हामीसँग गफ गरिरहेका थिए । ज्योतिकी आमा बाहिर थिइनन ।सोध्ने कुरा पनि भएन ,सायद किचनमा बिजी थिइन होला । हामीलाई खाना खान डाइनिंग मा लगियो । खाना खायौं । ज्योतिकी ममी किचन मै थिइन् , थप्ने काम उसकी बहिनी र उसका साथीले गरिरहेका थिए ।
       खाना खाइसकेपछी टिका लगाउने कार्यक्रम चल्दै थियो । पहिला ज्योति र सौभाग्यले टिका लगाउने काम भयो । त्यसपछि मलाइ टिका लगाउन ज्योतिका बाबा र ममी आए । उसकी ममीले टाउको रुमाल ले छोपेकी थिइन् । कताकता देखेदेखेजस्तो लागेको थियो । तर ठम्याउन सकेको थिइन् ।ज्योतिका बाबाले “ल सम्धी ज्यू
,नयाँ नाता गास्न लागियो ,हामीलाई बधाई छ” भन्दै टिका लगाइदिए ।ज्योतिकी ममी टिका लिएर मेरो निधार तिर हात तेर्साएकी के थिइन्, मैले पत्तो पाइहालें , उनि अरु कोहि नभएर उही अस्मिता रहिछिन । आँखामा आँशु भरिए ,देखाउन मिलेन । हतार हतार टिका लगाउन अर्कोलाई बोलाएँ ।





1 comment:

  1. कथा सारै मिठो छ,
    तर कथाले धेरै समयको ग्यापलाइ एकैछिनको बनाईदियो,
    मज्जा लाग्यो मिठ्ठो कथा पढेर 😊😊

    ReplyDelete

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...